आज देशभर वर्षाको सम्भावना, कोसी र गण्डकीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी

देशका अधिकांश स्थानमा आज (भदौ १३) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् विनु महर्जनले बताइन्। उनका अनुसार रातिको समयमा ती क्षेत्रमा वर्षाको गतिविधि थप बढ्न सक्छ।

रसुवा, नुवाकोट र धादिङका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहे पनि धेरै स्थानमा भारी वर्षा हुने अवस्था नरहेको उनले स्पष्ट पारिन्। वाग्मती प्रदेशमा भने सिन्धुपाल्चोकमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहेको उनले बताइन्।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

मनसुनको गतिविधि पुनः केही सक्रिय भएकाले हिजोको तुलनामा आज वर्षाको गतिविधि बढ्ने महाशाखाले जनाएको छ। मौसमविद् महर्जनका अनुसार आज र भोलि देशभर मध्यमसम्म वर्षा हुने सम्भावना बढेको छ।

आज राति र भोलि पूर्वी क्षेत्रमा पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ। पश्चिमी क्षेत्रमा भने पहाडी तथा तराई भूभागका केही स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार २४ घण्टामा १० देखि ५० मिलिमिटरसम्म वर्षा भए मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भए भारी वर्षा मानिन्छ। त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »