टप एण्ड टी–२० सिरिज : नेपाल ‘ए’ आज भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै

अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज भिक्टोरिया सिए–११ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ।

प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल आज सान्त्वना जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ। नेपाल चार अङ्कसहित अंक तालिकाको सातौँ स्थानमा रहेको छ।

प्रतियोगितामा पाँच खेल खेलेको नेपालले दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको थियो।

त्यसपछि नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको थियो। चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको थियो।

तर पाँचौँ खेलमा नेपाल हैदरावाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो। त्यसैले आज भिक्टोरिया सिए–११ विरुद्धको खेल जित्दै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।

टप एण्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार शाहले गरिरहेका छन्। टोलीमा कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »