
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि जिल्लामा हालसम्म २३३ शव तथा शवका अवशेष संकलन भएका छन्। तीमध्ये चार शवको मात्रै पहिचान भएको छ भने २२९ शव होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरी राखिएका छन्।
लामो समयसम्म राखिएका शव सड्न र गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा महामारीको जोखिम बढ्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको रायका आधारमा शव व्यवस्थापन गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शव जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमुना संकलन गरिनेछ। प्रत्येक शवलाई संकेत नम्बर प्रदान गरी आवश्यक अभिलेखसमेत राखिनेछ।
त्यसपछि भरतपुर महानगरपालिका–१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापनको काम सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले यो निर्णय संक्रमणको सम्भावित जोखिमबाट बच्न अपनाइएको बाध्यात्मक विकल्प भएको जनाएको छ। साथै, यसबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ।
