बाढीपीडितका लागि काठमाडौँ प्रशासनले राहत सामग्री सङ्कलन गर्ने

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ।

कार्यालयले बुधबार सूचना जारी गर्दै काठमाडौँमा रहेका विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकलाई बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र अन्य आवश्यक घरायसी सामग्री सहयोग गर्न आग्रह गरेको हो।

सूचना अधिकृत खिमराज भुसालका अनुसार बुधबार आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति भएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन राहत सङ्कलनको व्यवस्था गरिएको हो।

काठमाडौँमा सङ्कलन हुने सबै राहत सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत एकद्वार प्रणालीमा सङ्कलन गरिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, उद्धार तथा राहतमा खटिएका काठमाडौँस्थित सुरक्षा निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सामग्री प्रभावितसम्म पुर्‍याइने कार्यालयले जनाएको छ।

राहत सामग्री सङ्कलन तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ। सहयोग गर्न इच्छुकले उनलाई ९८४१७९८५४२ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

त्यस्तै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा कार्यालयले उपलब्ध गराएको क्यूआरमार्फत रकम जम्मा गर्न सक्नेछन्।

राहत वितरणमा दोहोरोपन हुन नदिन र सहयोग वास्तविक प्रभावितसम्म प्रभावकारी रूपमा पुर्‍याउन एकद्वार प्रणाली अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »