
रसुवामा बाढी तथा पहिरोको जोखिम घटेसँगै चितवन हुँदै सञ्चालन हुने प्रमुख राजमार्गमा रोकिएको सवारी आवागमन पुनः सुचारु भएको छ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसअघि रोकिएका सवारी साधन अवस्था सामान्य भएपछि सञ्चालनमा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा तथा मुग्लिन हुँदै काठमाडौं जाने र आउने सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको छ।
यसअघि रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरोको जोखिम बढेको सूचना आएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नारायणगढ–मुग्लिन तथा मुग्लिन–पोखरा/काठमाडौं सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो।
बाढीको जोखिम नरहेको अर्को सूचना प्राप्त भएपछि रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ जान दिइएको प्रहरीले जनाएको छ।
राजमार्ग सञ्चालनमा आए पनि जोखिमयुक्त स्थानमा सावधानी अपनाउन, सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न र यात्रा गर्दा सुरक्षालाई प्राथमिकता दिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
