भोटेकोशीमा बाढीको बहाव बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता

भोटेकोशी नदीमा आइतबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि सरोकारवाला निकायले तटीय तथा प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य जारी रहेकै समयमा भोटेकोशीमा फेरि बाढीको बहाव बढेको हो। बाढीको बहाव बढेपछि उद्धार तथा राहतमा खटिएका टोलीसहित नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका व्यक्ति, तटीय क्षेत्रमा रहेका नागरिक तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा पछिल्लो समय जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको बताइएको छ। साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीमा समेत जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ।

नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नारायणी तथा यसका सहायक नदीका तटीय क्षेत्रमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »