
तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ‘ए’ मा परेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।
नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्।
समूह चरणमा नेपालले पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने यो खेल ५० ओभरको हुनेछ। प्रिमियर कपको ५० ओभरको ढाँचामा नेपालले पहिलोपटक बहराइनको सामना गर्न लागेको हो।
नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। मलेसियाविरुद्ध पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित रहेको छ। हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो।
प्रिमियर कपमा नेपाल र मलेसियाबीच यो दोस्रो भेट हो। सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालले समूह चरणको तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ भने अन्तिम खेल भदौ २३ गते हङकङसँग हुनेछ। नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेल भएका छन्, जसमा नेपालले एक खेल जितेको छ भने अर्को खेल रद्द भएको थियो।
त्यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच चारपटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेपालले एक खेल जित्दा हङकङले दुई खेल जितेको छ भने एक खेल रद्द भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका विजेता टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
यसपटकको प्रिमियर कपको महत्व अझ बढेको छ। प्रतियोगिताको विजेता टोलीले मात्र सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउनेछ।
गत संस्करण भने टी–२० ढाँचामा भएको थियो। सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपका लागि छनोट भएका थिए। नेपाल भने चौथो स्थानमा सीमित भएको थियो।
नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो। घरेलु मैदानमा भएको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाली टोली उपाधि रक्षा गर्दै एसिया कपमा स्थान बनाउने लक्ष्यमा मैदान उत्रँदैछ।
