एसिसी प्रिमियर कप : पहिलो खेलमा नेपालले आज बहराइनसँग खेल्दै

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले बहराइनविरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्न लागेको हो।

सन् २०२७ मा हुने एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित नेपाली टोली प्रतियोगितामा सहभागी भएको छ। १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य छ। नेपाल र बहराइनबीचको खेल बिहान ७ः१५ बजे सुरु हुनेछ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’मा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’मा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।

नेपाल र बहराइनबीचको खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ। ५० ओभरको क्रिकेटमा दुवै टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

नेपालले समूह चरणको दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियाविरुद्ध खेल्नेछ। मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ। प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो।

त्यसपछि नेपालले भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग हुनेछ। साउदी अरेबियासँग खेलेका दुई खेलमध्ये नेपालले एकमा जित हात पारेको छ भने अर्को खेल रद्द भएको थियो। हङकङविरुद्ध ५० ओभरको क्रिकेटमा नेपालले चार खेल खेल्दा एक जित र दुई हार बेहोरेको छ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेता टोलीले सन् २०२७ मा आयोजना हुने एसिया कपमा सिधै स्थान बनाउनेछ।नेपालले सन् २०२३ मा घरेलु मैदानमा भएको पहिलो संस्करणको फाइनलमा युएईलाई सात विकेटले हराउँदै उपाधि जितेको थियो। यसपटक पनि त्यही सफलता दोहोर्‍याउँदै एसिया कपमा स्थान बनाउने लक्ष्यमा नेपाली टोली रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »