
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत आर्थिक सहयोग जुट्ने क्रम जारी छ। स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याएको जनाएको छ।
कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकका खातामार्फत उक्त रकम कोषमा जम्मा भएको हो। यसबाहेक हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।
विपद्को कठिन परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग र उचित व्यवस्थापन सुनिश्चित गर्न सरकारले आधिकारिक माध्यमबाट मात्रै आर्थिक सहयोग गर्न आग्रह गरेको छ। सम्भावित वित्तीय ठगीबाट जोगिन आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’का नाममा रहेका बैंक खातामा मात्र रकम जम्मा गर्न सरकारले अनुरोध गरेको हो।
कोषमा रकम जम्मा गर्न आवश्यक बैंक खाता नम्बर, क्यूआर कोड तथा अन्य विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको कार्यालयले जनाएको छ।
