
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मध्यपूर्वका मुस्लिम राष्ट्रहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। मध्यपूर्वमा युद्ध सुरु भएको करिब छ महिनापछि आइतबार सार्वजनिक गरिएको लिखित सन्देशमार्फत उनले यस्तो आह्वान गरेका हुन्।
शिया मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मदिन मनाइरहेका बेला खामेनीले मुस्लिम राष्ट्रहरूबीच एकता, सहकार्य र आपसी सहयोगमार्फत समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।
उनले मुस्लिम समुदायबीच विभाजन वा द्वन्द्व सिर्जना गर्ने कुनै पनि गतिविधिले इस्लामका शत्रुको उद्देश्य पूरा गर्न सहयोग पुग्ने चेतावनी दिएका छन्।
अमेरिका र इजरायलतर्फ संकेत गर्दै खामेनीले मध्यपूर्वका शासकहरूलाई आफ्नो ‘वास्तविक शत्रु’ पहिचान गर्न, उसको योजना बुझ्न र त्यसको सामना गर्न आग्रह गरेका छन्।
मध्यपूर्वमा जारी युद्धका क्रममा इरानले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), जोर्डन, कुवेत, कतार र बहराइनलगायत देशमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाएको थियो। त्यसयता इरान र ती देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।
महत्त्वपूर्ण राज्य नीतिमा अन्तिम निर्णय गर्ने अधिकार रहेका खामेनीले इरानी अधिकारी तथा नागरिकलाई समेत आन्तरिक मतभेद त्यागेर इजरायल र अमेरिकाविरुद्ध एकताबद्ध हुन आग्रह गरेका छन्।
उनले इरानी जनतालाई कुनै पनि अवस्थामा आपसी विभाजन हुन नदिन आग्रह गर्दै सामाजिक एकतामा असर पार्ने गतिविधि स्वीकार्य नहुने बताएका छन्।
यसअघि शुक्रबार सार्वजनिक गरिएको अर्को सन्देशमा खामेनीले इरानी अर्थतन्त्रलाई क्रमशः अमेरिकी डलरको निर्भरताबाट मुक्त गर्नुपर्ने बताएका थिए। साथै, अमेरिकी नौसैनिक नाकाबन्दी र लामो समयदेखिको कडा प्रतिबन्धका कारण प्रभावित अर्थतन्त्रलाई उकास्न उत्पादन वृद्धि र आर्थिक विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।
