बहराइनमाथि ७ विकेटको जित, प्रिमियर कपमा नेपालको विजयी सुरुवात

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। सोमबार भएको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

मलेसियाको वाइएसडी–युकेएम ओभलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहे। उनले ५८ बलमा ५ चौका प्रहार गरे। यस्तै, रोहित पौडेलले १४ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाएर नटआउट रहे।

नेपालका तीन विकेटमध्ये दुई विकेट बहराइनका इमरान जावेदले लिए भने एक विकेट रनआउटका रूपमा गुमेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए। सन्दीपले आफ्नो सुरुवाती स्पेलमै बहराइनलाई दबाबमा राखेका थिए। १४औँ ओभरमा बलिङ सुरु गरेका उनले पहिलो र चौथो बलमै विकेट लिए। त्यसपछि पाँचौँ ओभरमा थप एक तथा सातौँ र आठौँ ओभरमा एक–एक विकेट लिएर पाँच विकेट पूरा गरे।

बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे।

नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बिहीबार आयोजक मलेसियासँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »