बाढीपीडितका लागि चीनको थप राहत काठमाडौँ आइपुग्यो

चीनले नेपालका बाढीपीडितका लागि उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौँ आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेना (पीएलए)को वायुसेनाको विमानमार्फत मंगलबार साँझ राहत सामग्री काठमाडौँ ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। सोही विमानमार्फत चिनियाँ सहयोगअन्तर्गत पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए। मन्त्री पुनसहित नेपाली प्रतिनिधिले नेपाल आएका चिनियाँ विशेषज्ञलाई विमानस्थलमा स्वागत गरेका थिए।

दोस्रो खेपमा बाढी तथा विपद्पछिको उद्धार र राहतका लागि तत्काल आवश्यक ड्रोन, डीएनए परीक्षणसम्बन्धी उपकरण, पानी शुद्धीकरणका सामग्री तथा अन्य आवश्यक उपकरणहरू रहेका छन्।

चिनियाँ विशेषज्ञहरूले बाढी तथा पहिरोमा बेपत्ता वा मृत्यु भएकाहरूको पहिचानका लागि डीएनए परीक्षणमा सहयोग गर्ने जनाइएको छ। राहत सामग्री र प्राविधिक जनशक्तिको आगमनले विपद्पछिको खोज, उद्धार तथा प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन थप सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »