
भोटेकोसी–त्रिशूली बाढीपछि विभिन्न जिल्लामा फेला परेका र कास्की ल्याइएका पहिचान हुन नसकेका ७६ शवको व्यवस्थापन गरिएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार बाढीपछि विभिन्न स्थानबाट गरी कास्कीमा १०२ शव ल्याइएको थियो। तीमध्ये २१ शवको सनाखत भइसकेको छ।
पहिचान हुन नसकेका ७८ शव व्यवस्थापन गर्ने तयारी गरिएको भए पनि व्यवस्थापनअघि नै दुई शवको पहिचान खुलेपछि बाँकी ७६ शवलाई पोखरा महानगरपालिका–१६ मा खाल्डो खनेर गाडिएको एसपी कार्कीले जानकारी दिए।
उनका अनुसार दुई शवको पहिचान भएपछि ७६ शव मात्र व्यवस्थापन गरिएको हो। बाढीले बगाएर ल्याएका तथा तनहुँ, नवलपुर, धादिङ र गोरखालगायत जिल्लाका विभिन्न स्थानमा फेला परेका शव कास्की ल्याइएको थियो।
पहिचान हुन नसकेका शवलाई पोखरा–१६ मा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शवको पहिचानका लागि आफन्तबाट प्राप्त विवरण, डीएनए परीक्षणलगायत आवश्यक प्रक्रियाबाट सनाखत गर्ने काम भने जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आफन्त तथा सम्बन्धित व्यक्तिबाट प्राप्त सूचना र अन्य प्रमाणका आधारमा शव पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ।
