इन्धनको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेर आए पनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि मुलुकमा विद्यमान प्राकृतिक विपद् तथा भोटेकोशी बाढीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगमले हाल कायम रहेको मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले भदौ १७ गते बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको साविककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको निगमले जनाएको छ।

आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलमा ४ रुपैयाँ ३३ पैसा, मट्टितेलमा १० रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ९६ पैसा बढेर आएको छ। त्यस्तै, एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसा बढेर आएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारबाट खरिद मूल्य बढेर आए पनि निगमले स्वचालित मूल्य प्रणालीअनुसार तत्काल मूल्य समायोजन नगरी उपभोक्तालाई राहत दिने निर्णय गरेको हो।

हालको मूल्य यथावत राख्दा निगममाथि भने ठूलो आर्थिक भार पर्ने भएको छ। निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार बिक्री मूल्य समायोजन नगर्दा प्रत्येक १५ दिनमा करिब १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

विपद्को संवेदनशील अवस्थामा नागरिकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले व्यावसायिक नाफाभन्दा सामाजिक उत्तरदायित्व र उपभोक्ताको सहजतालाई प्राथमिकता दिँदै इन्धनको मूल्य तत्काल नबढाइएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »