मकवानपुरगढीमा आगलागी हुँदा घरसहित करिब २५ लाखको क्षति

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय इन्द्रबहादुर कठाइतको इँटा र काठले बनेको तथा जस्ताको छानो भएको दुईकोठे कच्ची घरसँगै रहेको भान्साकोठामा बुधबार राति करिब ११ बजे अचानक आगलागी भएको हो।

आगलागीबाट घर र भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो हेटौंडा उपमहानगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहीबार बिहान करिब साढे १ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

पीडितका अनुसार आगलागीमा लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार रुपैयाँ, चार तोला सुन, एउटा मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने क्यामेरा र कम्प्युटरको पूर्ण सेटलगायतका सामग्री जलेर नष्ट भएका छन्।

आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको छ। आगलागीपछि पीडित परिवार हाल छिमेकीको घरमा बसिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »