
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको बीपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। बढ्दो चाप व्यवस्थापन गर्दै आवागमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणाली लागू गर्ने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गको क्षमता र सडकको अवस्थालाई ध्यानमा राख्दै मालवाहक सवारीसाधनलाई रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो। साथै, मालवाहक सवारीसाधनको अधिकतम तौल सीमा १० टन निर्धारण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडकमा जाम हुन नदिन ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी धुलिखेल–खुर्कोट खण्डमा मालवाहक सवारीसाधनको सञ्चालन समय व्यवस्थापन गरिएको छ।
त्यस्तै, ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मात्रै सञ्चालन गरिने व्यवस्था गरिएको छ।
सडकको जोखिम न्यूनीकरण तथा आवागमनलाई थप सुरक्षित बनाउन डिभिजन सडक कार्यालय भक्तपुरले पनि काम अघि बढाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार जोखिमयुक्त तथा साँघुरा घुम्तीहरूमा तत्काल सुधारका काम भइरहेको छ।
सडक अवरुद्ध हुन नदिन संवेदनशील स्थानहरूमा डोजर तथा अन्य आवश्यक उपकरण तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ।
