त्रिशूली–३ ए सुरुङमा फसेकासँग संवाद, एकभन्दा बढीको आवाज सुनियो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीका कारण थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका क्रममा शुक्रबार उद्धारकर्मी र सुरुङभित्र रहेका व्यक्तिबीच संवाद भएको छ।

नौ दिनदेखि जारी खोज तथा उद्धारका क्रममा सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको उद्धारमा संलग्न टोलीले पुष्टि गरेको छ। उद्धारकर्मीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको जनाइएको छ।

सुरुङभित्र रहेका व्यक्तिसँग प्रत्यक्ष संवाद स्थापित हुनु उद्धार कार्यका लागि महत्वपूर्ण र आशाजनक संकेतका रूपमा लिइएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धारलाई तीव्र बनाइरहेको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले पनि उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्र मानिस बोलेको आवाज सुनेको जानकारी प्राप्त भएको बताएका थिए। न्यौपाने बिहीबार साँझसम्म आयोजनास्थलमै रहेर इन्जिनियरको भूमिकामा खोज तथा उद्धार कार्यमा संलग्न थिए।

उनले नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोलीलगायत उद्धार कार्यमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।

बाढीका कारण सुरुङ थुनिएपछि त्यहाँ फसेकाहरूको उद्धारका लागि नौ दिनदेखि नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »