रसुवा बाढीको प्रभाव : किरियापुत्री घरहरूमा ठाउँकै अभाव

२१ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ४० वर्षीय हरिप्रसाद मैनाली बेपत्ता भए । १० भदौको बाढीमा परेका उनको अवस्था पत्ता लागेन ।

धेरैदिन खोजी गर्दा पनि फेला पर्ने सम्भावना कमजोर हुँदै गएपछि परिवारले हरिप्रसाद फर्केर आउने आशा मार्नुपर्‍यो । शवसमेत नभेटिएपछि परिवारले कुशबाट उनको प्रतीक बनाएर अन्तिम संस्कार गर्‍यो ।

तर आफन्त गुमाएको पीडाबीच मैनाली परिवारले अर्को समस्या पनि सामना गर्नुपर्‍यो– किरियाकर्मका लागि ठाउँको अभाव ।

हरिप्रसादका भाइ हेमचन्द्रका अनुसार काठमाडौंको तारकेश्वर क्षेत्रमा रहेका अधिकांश किरियापुत्री भवन भरिएका छन् । त्यसपछि नगरपालिकाले निर्माणाधीन किरियापुत्री भवनलाई अस्थायी रूपमा प्रयोग गर्न दिएपछि परिवारले त्यहीँ बसेर अन्तिम संस्कार गरिरहेको छ ।

‘आफ्नो मान्छे गुमाएको पीडा त छँदैछ, त्यसमा पनि किरिया बस्ने ठाउँ खोज्न निकै समस्या भयो । धेरै ठाउँ भरिएका रहेछन् । अहिले निर्माणाधीन भवनमै बसेर किरियाकर्म गरिरहेका छौं,’ हेमचन्द्रले भने ।

हरिप्रसादको परिवारको यो अवस्था अहिले

विपद्मा आफन्त गुमाएका धेरै परिवारको साझा समस्या बनेको छ । भोटेकोशी तथा रसुवा–नुवाकोट क्षेत्रमा आएको बाढीपछि एकैपटक ठूलो संख्यामा परिवारले आफन्त गुमाउँदा काठमाडौंका किरियापुत्री भवनमा पनि चाप बढेको हो ।

पशुपति क्षेत्रमा रहेको ४२ कोठे किरियापुत्री सेवा केन्द्रसमेत भरिएपछि वैकल्पिक व्यवस्थापन गर्नुपरेको छ । पशुपति क्षेत्र विकास कोषका एक अधिकारीका अनुसार वनकाली क्षेत्रमा फूल बिक्रीका लागि प्रयोग हुँदै आएको करिब ८० कोठा रहेको भवनलाई समेत अस्थायी रूपमा किरियापुत्री भवनका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि पशुपति क्षेत्रमा तत्कालका लागि किरियाकर्म गर्ने ठाउँको अभाव नरहेको ती अधिकारीको दाबी छ ।

यस्तै, तारकेश्वर नगरपालिकाले निर्माणाधीन किरियापुत्री भवनलाई अस्थायी रूपमा प्रयोग गर्न दिएको छ । काठमाडौंको बसुन्धरा, धापासी, बाँसबारी, नेपालटार र काँडाघारीलगायतका क्षेत्रमा पनि किरियापुत्री भवनमा चाप बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »