
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ।
प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्रीको सचिवालय, परराष्ट्र मन्त्रालय तथा सुरक्षा निकायका अधिकारी सहभागी हुनेछन्।
परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली विभिन्न साइडलाइन बैठकमा सहभागी हुन सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्नेछ। प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा न्युयोर्क जाने र सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
महासभामा अपराह्न ३ बजेदेखि राति ९ बजेसम्म हुने सम्बोधनमा प्रधानमन्त्री शाहको पालो १७औँ नम्बरमा रहेको जनाइएको छ। प्रधानमन्त्री सेप्टेम्बर २५ मा स्वदेश फर्कने कार्यतालिका रहेको छ।
यसअघि महासभामा परराष्ट्रमन्त्रीले मात्र नेपालको प्रतिनिधित्व गर्ने तयारी थियो। तर भोटेकोशी बाढीबाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने भएपछि प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुने निर्णय गरिएको हो।
