इजरायलमा केयरगिभरका लागि १,४६४ पद खुला

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका विभिन्न उमेर समूहका व्यक्तिको हेरचाहका लागि सहायक कामदारको आवेदन खुलेको छ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार इजरायलका लागि १ हजार ४६४ जना कामदार माग गरिएको छ। जसमा १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्।

इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गतको अनलाइन प्रणालीबाट दिन सकिनेछ।

आवेदनका लागि उम्मेदवारको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ।

शैक्षिक योग्यताका रूपमा कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको केयरगिभिङ तालिम लिएको हुनुपर्ने विभागले जनाएको छ।

आवेदन दिने उम्मेदवारको पासपोर्टको म्याद कम्तीमा एक वर्ष बाँकी हुनुपर्नेछ। यसअघि इजरायल गएर काम नगरेको तथा बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा कार्यरत नरहेको हुनुपर्नेलगायतका मापदण्ड पनि तोकिएका छन्।

छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली कानुनअनुसार ओभरटाइम सुविधा उपलब्ध हुने जनाइएको छ। कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन्।

कामदारका लागि कम्पनीले बस्ने व्यवस्था गर्ने भए पनि त्यसको खर्च भने कामदार आफैंले व्यहोर्नुपर्नेछ। खानाको व्यवस्था भने कम्पनीले नगर्ने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »