ह्यारी–मेघनको सम्बन्धबारे दरबारबाट यस्तो सन्देश

बेलायतका राजा चाल्र्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध कायम रहने स्पष्ट पारेका छन्। यद्यपि, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएयता जस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी गतिविधि निजी हैसियतमा सञ्चालन गर्ने जनाइएको छ।

राजाको तर्फबाट वरिष्ठ सरकारी अधिकारीहरूलाई पठाइएको पत्रमा ह्यारी र मेघनको सुरक्षा व्यवस्थासम्बन्धी निर्णय सम्बन्धित प्रहरी निकायले गर्ने उल्लेख छ। शाही घरानाका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले सरकार, सेना तथा देशभर राजाका प्रतिनिधिका रूपमा रहेका लर्ड लेफ्टिनेन्टहरूलाई पत्र पठाएका हुन्।

पत्रमा कुनै भ्रम वा अन्योल नहोस् भनेर राजाको निर्देशनमा उक्त जानकारी साझा गरिएको उल्लेख छ। ह्यारी–मेघनको शाही परिवारसँगको सम्बन्ध यथावत् रहे पनि उनीहरूले शाही परिवारका सक्रिय सदस्यको समानान्तर संरचना निर्माण गर्न सक्ने आशंका दरबारका केही पर्यवेक्षकले गर्दै आएका छन्।

शाही जिम्मेवारी त्यागेपछि हटाइएको सार्वजनिक कोषबाट प्राप्त प्रहरी सुरक्षा पुनःस्थापित गर्न ह्यारीले बेलायत सरकारसँग लामो कानुनी लडाइँ गर्दै आएका छन्। अब उनीहरूलाई चौबीसै घण्टा प्रहरी सुरक्षा उपलब्ध गराउने वा नगराउने निर्णय रोयल एन्ड भिआइपी कार्यकारी समिति (आरएभीईसी) ले गर्नेछ।

लर्ड चेम्बरलेनले औपचारिक सम्मान, राज्यका निकायबाट दिइने विशेष व्यवहार तथा त्यसका लागि सार्वजनिक कोष प्रयोग गर्ने विषयमा कुनै प्रश्न भए बकिंघम दरबारमा सम्पर्क गर्न सकिने स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »