ग्यास अभावमा सडकमा पकाए खाना

काठमाडौँ । देशभर देखिएको खाना पकाउने ग्यासको अभाव र आपूर्ति समस्याविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले काठमाडौँको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसअगाडि दाउरा बालेर खाना पकाउँदै विरोध प्रदर्शन गरेको छ।

विद्यार्थीहरूले क्याम्पसअगाडिको सडकमा इँटा राखेर अस्थायी चुलो बनाएका थिए। सोही चुलोमा दाउरा बालेर खाना पकाउनुका साथै उनीहरू सडकमै बसेर खाना खाएका थिए।

ग्यास अभावका कारण सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्नुपरे पनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा देशभर देखिएको अभाव तत्काल अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

यसअघि पनि अखिल क्रान्तिकारीले ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै सिंहदरबारको दक्षिण गेटमा सिलिन्डर बोकेर प्रदर्शन गरेको थियो।

लामो समयदेखि ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा विद्यार्थी, श्रमिक तथा डेरामा बस्ने उपभोक्तासहित सर्वसाधारण घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्।

ग्यास अभावले दैनिक जीवन प्रभावित भएको भन्दै विद्यार्थीहरूले समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »