
चितवनको भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।
वसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा कारमा आगलागी भएपछि प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा आगलागी हुनुको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
