
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन कुनै पनि नेता तथा कार्यकर्तालाई वञ्चित नगरिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी भएर प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्न पाउने बताए। उनले पार्टीको १५औँ महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने दाबी गरे।
उनका अनुसार असोज ४ गतेदेखि महाधिवेशनको अधिवेशन प्रक्रिया सुरु हुनेछ भने असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया अघि बढ्नेछ।
थापाले महाधिवेशनमा प्रतिस्पर्धा गरेर जिम्मेवारी प्राप्त गर्न नसक्ने नेता तथा कार्यकर्तालाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। महाधिवेशनबाट नेतृत्व चयन भएपछि पार्टीभित्रको आन्तरिक विषय व्यवस्थापन हुने उनको भनाइ थियो।
तर, कांग्रेसका लागि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु मुख्य चुनौती रहेको थापाले बताए। महाधिवेशनपछि नागरिकसँगको सम्बन्ध सुधार र विश्वास पुनःस्थापनाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
