चीनका राष्ट्रपति सी जिनपिङ भारतमा

चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन्। उनलाई भारतका केन्द्रीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।

भारत भ्रमणका क्रममा सीले शनिबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सन् २०२० मा भएको गलवान झडपपछि सीको यो पहिलो भारत भ्रमण हो।

सन् २०१९ मा तमिलनाडुको मामल्लापुरममा मोदीसँग अनौपचारिक भेटवार्ता गरेपछि सी पहिलोपटक भारत पुगेका हुन्। त्यसैले दुई नेताबीचको पछिल्लो भेटलाई भारत–चीन सम्बन्ध सुधारका लागि महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

मोदीसँगको भेटमा भारत–चीन सम्बन्ध, सीमा क्षेत्रमा शान्ति र स्थिरता तथा दुई देशबीचको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। वास्तविक नियन्त्रण रेखा (एलएसी) मा लामो समयदेखि तनाव कायम रहे पनि पछिल्लो समय दुवै देशले संवादमार्फत सम्बन्ध सुधारको प्रयास अघि बढाउँदै आएका छन्।

ब्रिक्स शिखर सम्मेलनमा सीले विश्वव्यापी दक्षिणका देशहरूबीच सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। सम्मेलनमा व्यापार, लगानी तथा विश्वव्यापी मुद्दाका साथै उदीयमान र विकासशील मुलुकबीच सहकार्यका विषयमा छलफल हुँदैछ।

सीको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य काई क्वी र चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी छन्।

भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले चीनले दुई नेताको रणनीतिक मार्गदर्शनअनुसार भारतसँग सञ्चार र सहकार्य बढाउन तथा दुई देशबीचका मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्न चाहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »