ईन्धनको खरिद मूल्य बढे पनि बिक्री मूल्य यथावत्‌

इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले हाल कायम रहेको मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।

आइओसीबाट प्राप्त पछिल्लो खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा तथा डिजेलको मूल्य ४ रुपैयाँ ६८ पैसा बढेर आएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ।

तर निगमले उपभोक्ताका लागि पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन गरेको छैन। पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम गरिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।

यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम राखिएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »