
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङस्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
पार्किङ गरिएको स्थानबाट चोरी भएको बा २ ज २७८४ नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा लुकाइराखेको अवस्थामा फेला परेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार चोरी भएको ट्याक्सी फेला परेपछि आज सम्बन्धित धनीलाई बुझाइएको हो । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकामा मोटरसाइकललगायत सवारीसाधन चोरी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।
उनका अनुसार उपत्यकाबाट हराएका तथा चोरी भएका सवारीसाधनको खोजी तथा नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत हराएका तथा चोरी भएका सवारीसाधन फेलापर्ने क्रम जारी रहेको उनले बताए ।
ट्राफिक प्रहरीका अनुसार गत साउन र भदौमा मात्रै १४६ वटा चोरी भएका र हराएको स्कुटी तथा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।
