
जिल्ला प्रशासन कार्यालय तनहुँले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा सञ्चालनमा ल्याएपछि आसपासका चार स्थानीय तहका नागरिक लाभान्वित भएका छन्।
सर्वसाधारणलाई स्थानीय तहमै सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। यससँगै राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि सदरमुकामस्थित प्रशासन कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार जिल्लाका सबै स्थानीय तहका नागरिक सेवा लिन सदरमुकाम आउँदा प्रशासन कार्यालयमा अत्यधिक भीड हुने गरेको थियो। भीडका कारण कतिपय सेवाग्राहीले एकै दिन सेवा लिन नसक्ने अवस्था आएपछि भीमादबाटै सेवा विस्तार गरिएको हो।
भीमाद नगरपालिकाबाट सुरु भएको सेवाबाट घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका–५, ६, ७ र ८ तथा म्याग्दे गाउँपालिका–५ का नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि केही समयअघि कार्यालयले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा सञ्चालन गरेको थियो।
प्रमुख जिल्ला अधिकारी तिवारीले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन तथा प्रशासन कार्यालयमा हुने भीड घटाउन भीमादबाट सेवा विस्तार गरिएको बताए।
उनका अनुसार स्थानीय तहमै राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध भएपछि नागरिकको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
