चाडपर्वमा यातायात भाडा नबढ्ने

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरे सार्वजनिक यातायातको भाडा पनि नबढ्ने बताएका छन्।

यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गर्दै आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि चाडपर्वको समयमा नेपालमा मूल्यवृद्धि गर्न नहुने धारणा राखे।

उनले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म सरकारले तोकेको सार्वजनिक यातायातको भाडादर नै कायम रहने स्पष्ट पारे। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा भने त्यसको असरअनुसार यातायात भाडा बढाउनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

‘पेट्रोलियम पदार्थको मूल्यमा कुनै पनि किसिमको वृद्धि भएन भने तोकिएको भाडा नै कायम रहन्छ,’ उनले भने, ‘सरकारले मूल्य बढाएमा बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ। नत्र तोकिएकोभन्दा बढी भाडा लिने अवस्था हुँदैन।’

चाडपर्वका बेला उपभोक्तामाथि तत्काल मूल्यवृद्धिको भार नथोपर्न सरकारसँग आग्रह गर्दै उनले पेट्रोलियम पदार्थमा थप घाटा व्यहोर्नुपर्ने अवस्था आए पनि कम्तीमा एक महिनासम्म राज्यले त्यसको भार थेग्नुपर्ने बताए।

यात्रुबाट सरकारले तोकेको भन्दा बढी भाडा असुली हुन नदिन आधिकारिक टिकट काउन्टरको नियमित अनुगमन गर्नुपर्नेमा पनि उनले जोड दिए। बस, मिनीबस, माइक्रोबसलगायत सवारी साधनको वर्गअनुसार सरकारले निर्धारण गरेको भाडादर नै लागू हुनुपर्ने उनको भनाइ छ।

अध्यक्ष सिटौलाले यात्रुलाई पनि आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरे।

यसैबीच, उनले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायबाट ढिलाइ भइरहेको आरोप लगाए। प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगिसकेको भए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

उनले अनलाइन टिकटिङसम्बन्धी कार्यविधि तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरे। प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उनले बताए।

अग्रिम टिकट बुकिङ खोल्ने मिति तोक्न हतार गर्नुपर्ने अवस्था नरहेको भन्दै उनले आवश्यक सबै तयारी पूरा गरेर असोज १५ भित्र टिकट बुकिङ खुलाउने मिति घोषणा गरिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »