
काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा गम्भीर घाइते भएका चालक अर्जुन दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा आगजनी हुँदा चालक लामा गम्भीर घाइते भएका थिए। शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेका लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिइन्।
आगलागीपछि सुरक्षाकर्मी तथा स्थानीयले लामालाई अचेत अवस्थामा बसबाट निकालेर तत्काल अस्पताल पुर्याएका थिए। दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको थियो।
घटना हुनुअघि लामाको ट्राफिक प्रहरीसँग विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विवादपछि उनले आफैं बसमा आगजनी गरेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, चालक लामाको परिचयबारे समेत केही अन्योल देखिएको छ। उनीसँग भेटिएको लाइसेन्सका आधारमा दावा लामा भनिए पनि घटनामा संलग्न व्यक्ति अर्जुन नामका व्यक्ति भएको दाबीसमेत आएको बताइएको छ।
लामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका स्थायी बासिन्दा रहेको र हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएको बताइएको छ। उनी विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए भने पछिल्लो ३–४ महिनादेखि ऋद्धिसिद्धि यातायातमा काम गर्दै आएका थिए।
घटनाबारे छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले समिति गठन गरेको छ। यातायात व्यवसायीहरूले भने घटनाअघि ट्राफिक प्रहरीले चालकप्रति ज्यादती गरेको आरोप लगाएका छन्।
