
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। फ्लाई दुबईले नियमित उडान सञ्चालन गर्न लागेसँगै लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखराको पर्यटन तथा व्यवसायिक क्षेत्रमा उत्साह थपिएको छ।
२०७९ साल पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि केही अन्तर्राष्ट्रिय उडान भए पनि तिनले नियमितता पाउन सकेका थिएनन्। अब भने फ्लाई दुबईले दुबई–पोखरा रुटमा नियमित उडान सुरु गर्न लागेको हो।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा सेवा व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको छ। फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
पहिलो उडानमा पोखरा विमानस्थलमा विमानलाई पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ। साथै, पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।
विमानस्थलमा अध्यागमन, भन्सार, कार्गो लगायतका सेवा सञ्चालनका लागि आवश्यक सबै व्यवस्थापन पूरा गरिएको महाप्रबन्धक निरौलाले बताए। उनका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल सञ्चालन पक्ष पूर्ण रूपमा तयार अवस्थामा छ।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले पनि भन्सारतर्फ गर्नुपर्ने सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार राजस्व सङ्कलन, यात्रुको जाँचपास, वैध व्यापार सहजीकरण तथा निकासी–पैठारीसम्बन्धी कामका लागि आवश्यक व्यवस्थापन गरिएको छ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै महत्वपूर्ण हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई नियमित उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने बताए।
फ्लाई दुबईले दुबईबाट विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखराबाट दुबई हुँदै अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जानसमेत सहज हुने उनको भनाइ छ। रोजगारी तथा अध्ययनका लागि नेपाली युवा ठूलो संख्यामा दुबई जाने भएकाले पोखराबाटै नियमित उडान हुँदा यात्रुलाई समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको छ।
