मङ्सिरमा खुल्दै सिद्धबाबा सुरुङमार्ग

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी तीव्र पारिएको छ। सुरुङमार्गको मुख्य संरचनासहित अधिकांश सिभिल निर्माणको काम सम्पन्न भइसकेकाले बाँकी कामलाई अन्तिम चरणमा पु¥याएर मङ्सिरभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलका आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङभित्र सडक निर्माण तथा अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेको छ। अहिले सुरुङभित्र सडक पिच गर्ने, रङरोगन तथा प्राविधिक भवनको फिनिसिङलगायतका काम भइरहेका छन्।

उनका अनुसार बर्खा तथा भोटेकोशी बाढीका कारण निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा यसअघि तय गरिएको समयभन्दा करिब एक महिना पछाडि काम धकेलिएको हो। बाँकी निर्माण सामग्री प्राप्त भएपछि सुरुङभित्रको कामलाई तीव्रता दिइने र मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए।

भोटेकोशी बाढीका कारण सुरुङमार्गका लागि ल्याइएका केही विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालनको पूर्वनिर्धारित योजना प्रभावित भएको थियो। अहिले सुरुङभित्र सडक पिचको काम सकिएर रङरोगन भइरहेको छ भने टेक्निकल भवनको फिनिसिङ पनि जारी छ।

सुरुङमार्गको लाइनिङ अर्थात् भित्ता तथा भुइँ ढलानसहितका सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भइसकेको छ। अब मुख्य रूपमा इलेक्ट्रोमेकानिकलसम्बन्धी काम पूरा गर्न बाँकी रहेको आयोजना प्रमुख बास्तोलाले जानकारी दिए।

योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ।

हालसम्म मुख्य सुरुङ तथा बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र सुरुङभित्रको प्रिमेन्टसम्बन्धी काम सम्पन्न भइसकेको छ। सुरुङभित्रको काम पूरा भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम अघि बढाइनेछ।

सुरुङको बाहिरी भागलाई पहिरो तथा ढुङ्गा खस्ने जोखिमबाट जोगाउन रकसेड, रकफल ब्यारेियर र स्लोप प्रोटेक्सनका संरचना निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ।

एक हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो भने २०७९ सालदेखि निर्माण सुरु भएको हो। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा निर्माणको ठेक्का लिएको हो।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्रमा पहिरो तथा ढुङ्गा खस्ने जोखिम उच्च छ। सुक्खायाममा समेत सुक्खा पहिरो खस्ने भएकाले यस क्षेत्रमा सडक यातायातलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।

सरकारको आफ्नै स्रोतमा निर्माण भइरहेको यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने जोखिमका कारण हुने यातायात अवरोध तथा दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »