
बाढी पूर्वानुमान महाशाखाले नारायणी नदीसहित विभिन्न नदी तथा खोलामा जलसतह बढिरहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले शनिबार बिहान ६:५० बजे सूचना जारी गर्दै चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामीटक्सारस्थित दरमखोलाको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको हो।
महाशाखाका अनुसार दुवै नदी तथा खोलामा पानीको सतह लगातार बढ्दो क्रममा रहेको छ। जलसतह थप बढ्न सक्ने सम्भावना रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाले शनिबार साँझसम्मै उच्च सतर्कता अपनाउन र नदी तथा खोलाको आसपास अनावश्यक रूपमा नजान आग्रह गरेको छ। पानीको बहाव थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी गर्नसमेत अनुरोध गरिएको छ।
