नारायणी पुलको क्रुजसिप निकालिँदै

नारायणी नदीको पुलमा अड्किएको राइनो क्रुजसिप निकाल्ने तयारी पुनः सुरु गरिएको छ। क्रुजसिप निकाल्न प्राविधिक टोलीले बिहानैदेखि काम अघि बढाएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पुलको पिल्लरमा कमभन्दा कम क्षति हुने गरी क्रुजसिप निकाल्ने तयारी भइरहेको छ। प्राविधिकहरूसँगको छलफलपछि आवश्यक तयारी पूरा गरिएको उनले बताए।

क्रुजसिप निकाल्न क्रेनसमेत प्रयोग गर्ने तयारी गरिएको छ। क्रेनलाई क्रुजसिप अड्किएको स्थानसम्म पुर्‍याउन सोमबार रातिसम्म दुईवटा एक्स्काभेटर प्रयोग गरी बाटो बनाइएको थियो। प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख तथा इन्जिनियरहरूको टोली पनि उद्धार तथा व्यवस्थापनको काममा खटिएको छ।

प्रजिअ अर्यालका अनुसार क्रुजसिप निकाल्न दुई विकल्पमा तयारी भइरहेको छ। पहिलो, सिंगै क्रुजसिपलाई तानेर पुलबाट अलग गर्ने र दोस्रो, आवश्यक परे क्रुजसिपलाई काटेर टुक्रा–टुक्रा गरी निकाल्ने विकल्पमा प्राविधिक अध्ययन भइरहेको छ।

करिब ६० टन भार रहेको क्रुजसिपभित्र पानीसमेत भरिएको र नदीको बहावको दबाब रहेकाले प्राविधिक मूल्यांकनका आधारमा सुरक्षित तरिका अपनाइने जनाइएको छ।

यसैबीच, क्रुजसिप पुलमा अड्किएपछि रोकिएको नारायणी पुलबाट सवारीसाधन आवतजावत पुनः सुरु भएको छ। प्राविधिकहरूको सुझावअनुसार अत्यधिक भार भएका सवारीसाधनबाहेक अन्य सवारीलाई पुलबाट नियन्त्रित रूपमा सञ्चालन गर्न दिइएको प्रशासनले जनाएको छ।

पुलमा भारी सवारीसाधनलाई दोहोरो रूपमा सञ्चालन हुन नदिई नियन्त्रित आवागमनको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »