बाघको आक्रमणबाट च्याउ टिप्न गएका एक जनाको मृत्यु

कैलालीमा च्याउ टिप्न गएका एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाबारे बिहान ८:०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८:४५ बजे घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »