
१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उपसभापति वाग्लेले शंकर दास बैरागी स्वार्थको द्वन्द्वबाट घेरिएको पात्र भएको बताए । ‘अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट झेलिएका पात्र हुनुहुन्छ । यो,’ वाग्लेले भने, ‘उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसैले उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ । सक्षम निकायहरूको राडारमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’
‘विगत १० वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष परराष्ट्र सचिव बन्नुभयो, तीन वर्ष मुख्य सचिव बन्नुभयो र रहस्यमय ढंगले उहाँको बहिर्गमन हुन्छ मुख्यसचिवबाट, राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ,’ वाग्लेले भने, ‘त्यसपछि उहाँ एक–दुई दिनमा निवृत्त हुन लागेका अर्का मुख्य सचिव आउनुहुन्छ । र, त्यो पिरियडमा दशौं करोड, अरबौंको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरू भएका छन् ।’
चबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बनाउनुपर्ने माग रास्वपाको रहेको उनले सुनाए ।