बाराको पथलैयामा प्रशासन र जेनजी वार्ता, यस्ता छन् माग

बाराको पथलैयामा प्रशासन र जेनजी वार्ता, यस्ता छन् माग

Facebook
X
Email
Telegram

५ मंसिर, काठमाडौं । बारा प्रशासन र जेनजी प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।

पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा भएको वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्ला प्रमुखहरू लगायत छन् ।

प्रदर्शनकारीको तर्फबाट सम्राट उपाध्याय, कपील खरेल लगायत छन् । प्रशासनले कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाए पनि प्रदर्शनकारी गएनन् । पछि जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारी पथलैया आएका हुन् ।

वार्तामा जेनजी अगुवा सम्राट उपाध्यायले ६ बुँदे माग प्रस्तुत गरेका छन् । उनले बुधबार र बिहीबारको घटनामा सुरक्षा कमजोरी गरेको भन्दै बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङ तथा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीलाई कारबाही हुनुपर्नेलगायतका माग राखेका छन् ।

यस्तै, घाइतेको नि:शुल्क उपचार र क्षतिपूर्तिको व्यवस्थापनलगायतका माग पनि जेनजी युवाले राखेका छन् ।

यस्ता छन्, जेनजीका माग

१. सुरक्षामा कमजोरी गर्ने बाराका एसपी सन्तोष तामाङसहित जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीलाई कारबाही हुनुपर्ने ।

२. जेनजी प्रदर्शनकारी र प्रदर्शनमा सहयोग गर्ने सबैको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने ।

३. जेनजीलाई हातपात गर्ने सबैलाई हदैसम्मको कारबाही हुनुपर्ने ।

४. जेनजीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता अरविन्द साहको टेलिफोन रेकर्ड छानबिन हुनुपर्ने ।

५. राज्यको तर्फबाट घाइतेको नि:शुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्थापन हुनुपर्ने ।

६. सुरुको जाहेरीमा नाम उल्लेख नभएका एमालेका स्थानीय कार्यकर्ता नवराज बस्नेत र विशाल लामालाई पुरक जाहेरी लिएर नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »