हात्तीले पहिले घर लडायो अनि घरमुली

हात्तीले पहिले घर लडायो अनि घरमुली

Facebook
X
Email
Telegram

९ मंसिर, काठमाडौं । झिक्राझिक्रीमा माटो लिपपोत गरेर बनाएका भित्ता अनि फुस र खरपातले छाएको छानो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टी स्याउलेकी ४५ वर्षीया धना विष्टका लागि त्यही घर बर्खाको झरी र कठ्यांग्रिँदो चिसो छेक्ने ओत थियो ।

त्यो घर उनको आफ्नो भने थिएन । न जमिन आफ्नो । जमिन भाइको थियो । चरम आर्थिक गरिबीसँग जुध्दै गरेकी धनाले अनेक दु:ख गरेर त्यही जमिनमा छाप्रो हालेकी थिइन् । परिवारको जर्गो टार्दै आएकी थिइन् ।

दुई छोराछोरीमध्ये १६ वर्षकी छोरी केही महिनाअघि रोजगारीका लागि भारततिर लागिन् । त्यसपछि श्रीमान् र ९ वर्षका छोरासहित धना त्यहीँ घरमा बस्थिन् ।

बुधबार बेलुकी परिवारसहित सुतेकी धना मस्त निद्रामा थिइन् । गाउँलेहरू कराउँदै, चिच्याउँदै गरेको आवाजले उनको निद्रा खुल्यो । बिहानको ३ बजेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्ती बस्ती पसेको रहेछ । धनाको त्यही छाप्रो हात्तीको निशानामा पर्‍यो । एकै झड्कामा हात्तीले छाप्रोको एक भाग भत्काइदियो।

गाउँलेको हल्लाखल्ला र छाप्रोमा हात्तीको आक्रमणबाट बिउँझेका धनाका श्रीमान् भाग्न सफल भए ।

ढोकाबाट बाहिर निस्कँदै गरेकी धनालाई हात्तीले फेला पार्‍यो । सुँडले तानेर कर्‍याङकुरुक बनायो । र, हुत्याएर फालिदियो । जमिनका पछारिएकी धनालाई हात्ती अझै छोडेन् । थामजस्ता खुट्टाले कुल्चियो र केहीबेरपछि छाडिदियो ।

हात्ती त्यहाँबाट गएपछि स्थानीय जम्मा भए । धुकधुकी बाँकी नै थियो ।

स्थानीयले उनलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाए । विडम्बना, परिवारकी मियो धना उठन सकिनन् । उपचारकै क्रममा उनको ज्यान गयो ।

स्थानीयले खबर गरेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगे ।

त्यतिञ्जेलसम्म हात्ती ध्वंश गरेर त्यहाँबाट गइसकेको थियो ।

जिल्लाका प्रहरी प्रमुख एसपी खड्कबहादुर खत्रीले हात्तीको आक्रमणमा एक महिलाको ज्यान गएको बताए । ‘घटनाबारे जानकारी पाउने बित्तिकै जिल्लाबाट टोली परिचालन गरिएको थियो,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘हात्तीको आक्रमणबाट घाइते धना विष्टको उपचारको क्रममा ज्यान गएको छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको थियो ।

घटनापछि भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपमेयर नीलम लेखक, प्रहरी प्रमुख एसपी खत्री, बफरजोनका अध्यक्ष लव विष्ट, भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहरा, १४ का वडाध्यक्ष भोजराज जोशीलगायत घटनास्थल पुगेका थिए ।

उनीहरूलाई स्थानीयले आरक्षबाट आइरहने जंगली हात्तीले बालीनाली नष्ट गर्ने, घर भत्काइदिने र ज्यानै लिने गरेको भन्दै गुनासा राखेको १३ नम्बर वडाका स्थानीय वीरेन्द्र ओडले जानकारी दिए ।

सरोकारवाला अधिकारीहरूसमक्ष स्थानीयले मृतक विष्टको परिवारलाई राहत तथा क्षतिपूर्तिलगायत सेवा–सुविधा उपलब्ध गराइदिन माग गरेका छन् ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »