कुलमान र हितेन्द्रबीच भेट, के भयो कुराकानी ?

कुलमान र हितेन्द्रबीच भेट, के भयो कुराकानी ?

Facebook
X
Email
Telegram

२५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतबाट पद पुनर्स्थापित भएसँगै नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् ।

शाक्य मन्त्री घिसिङ भेट्न सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । मन्त्रालय स्रोतका अनुसार भेटमा मन्त्री घिसिङले हाल प्राधिकरणले पूर्ण क्षमतामा काम गर्ने समय रहेको भन्दै त्यसमा सम्झौता नगर्न सुझाव दिएका छन् ।

आफू नतिजामा विश्वास गर्ने भन्दै मन्त्री घिसिङले कामलाई नतिजामा बदल्नुपर्ने अवस्था रहेको स्मरण गराएका थिए ।

कार्यकारी निर्देशक शाक्यले आफूले विगतमा पनि घिसिङसँग मिलेरै काम गरेको स्मरण गर्दै यस पटक पनि त्यसमा समस्या नहुने बताएको स्रोतले जनाएको छ ।

 


सर्वोच्च अदालतको परमादेशमार्फत प्राधिकरण कार्यकारी निर्देशकमा पुनर्स्थापित शाक्यले बुधबारदेखि कार्यभार सम्हालेका हुन् ।

शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को ५ असोज २०८२ को निर्णय कानुन विपरीत भन्दै सर्वोच्चले सोमबार खारेज गरिदिएको थियो ।

सोही परमादेश सम्बन्धी निर्णय मंगलबार प्राधिकरण पुगेपछि शाक्य बुधबार हाजिर भएका हुन् ।

जेनजी आन्दोलनको बलमा ऊर्जामन्त्री बनेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले शाक्यलाई ‘पूर्वाग्रही’ ‘प्रतिशोधपूर्ण’ र ‘स्वेच्छाचारी’ ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै अदालतले त्यसविरुद्ध परमादेश जारी गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको थियो ।

परमादेशमा छ, ‘शाक्यलाई सो पदबाट हटाउने विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रह र प्रतिशोधपूर्ण देखिन आयो । त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ, न्यायसंगत र उचित कारणमा आधारित निर्णय भनी मान्न मिलेन । मिसिलको मुहार (अन द फेस अफ रेकर्ड) बाटै स्वेच्छाचारी देखिएकाले यस्ता निर्णय तथा कामकारबाही कानुन र न्यायको रोहमा कायम रहन सक्ने देखिएन ।’

तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरी अघिल्लो सरकारले ११ चैत २०८१ मा शाक्यलाई प्राधिकरण प्रमुख नियुक्त गरेको थियो । त्यस निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत गए पनि अन्तरिम आदेश पाएका थिएनन् ।

जेनजी आन्दोलनपछि घिसिङ ऊर्जामन्त्री नियुक्त भएपछि लामो समयदेखिका प्रतिस्पर्धी शाक्यलाई पदबाट हटाएर आफ्ना निकट सहयोगी सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिलाएका थिए ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »