वास्तविक सुकुमवासीलाई तीन ठाउँमा अस्थायी वासस्थान, १५ दिनपछि स्थायी बन्दोबस्त

वास्तविक सुकुमवासीलाई तीन ठाउँमा अस्थायी वासस्थान, १५ दिनपछि स्थायी बन्दोबस्त

Facebook
X
Email
Telegram

१० वैशाख, काठमाडौं । काठमााडौंका तीन स्थानबाट हटाइएका ‘वास्तविक सुकुमवासी’लाई सरकारले १५ दिनपछि स्थायी बसोवासको व्यवस्था मिलाउने भएको छ ।

थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा बसेका सुकुमवासीलाई शनिबार र आइतबार तीन स्थानबाट अस्थायी बसोबास हुने गरी सार्ने भएको छ ।

प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले पूर्व तयारी गरेर मात्रै सुकुमवासीलाई सार्न लागेको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई भन्यो,‘सुकुमवासीलाई विना तयारी सार्न लागेको जस्तो गरेर समाचार आएका छन् । त्यसमा सत्यता छैन । व्यवस्थित रुपमा सार्ने तयारी भएको छ ।’

शुक्रबार साँझसम्म बसोबास गरिरहेको स्थान छोड्नका लागि सुरक्षाकर्मीले हिजो साँझ माइकिङ गरेर आग्रह गरेको छ । सरकारले तीन स्थानबाट सुकुमवासीहरु हटाउने भएपछि कतिपय शुक्रबार बिहान देखि नै उक्त स्थान छोड्न सुरु गरेका छन् । अन्यत्र घर– जग्गा भएका तर सुकुमवासी हुँ भन्दै गरेकाहरु छोड्न सुरु गरेको सरकारी पक्षको बुझाई छ ।

‘वास्तविक सुकुमवासी छन् । सुकुमवासी हुँ भन्दै बस्ने घर जग्गा भएकाहरु पनि छन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्छ, ‘वास्तविक सुकुमवासीहरुलाई यथोचित व्यवस्था गर्छौं । सुकुमवासीको नाममा बस्नेलाई हटाउने नै हो ।’

शनिबार र आइतबार ती स्थानबाट सारिएका सुकुमवासीलाई काठमाडौंका फरक फरक तीन ठाउँमा राखिने भएको छ । हाल बसोबास गरेको स्थानमा भन्दा बस्न र खानाको लागि राम्रो व्यवस्था गरेर सार्न लागिएको प्रधानमन्त्री कार्यालयले दाबी गरेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सारिएका सुकुमावासीको लगत संकलन राखिएकै स्थानबाट हुनेछ । लगत संकलनको कार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्ने भएको छ ।

वास्तविक र अवास्तविक सुकुमवासी छुट्याउने कार्य १५ दिनमा सकिने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । ‘लगत संकलनपछि जसको भूमि, घर केही छैन उनीहरुको स्थायी बसोबासको व्यवस्था सरकारले गर्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,‘लालपुर्जा भए/नभएको निश्चित गरेर सुकुमवासीको हितमा सरकारले काम गर्छ ।’

सुकुमवासीबस्ती खालि गराउन लागेपछि त्यहाँ बसोबास गर्नेहरु भयभित बनेका छन् । कतिपय सुकुमवासीले सरकारले खालि गर्न बल प्रयोग गरे प्रतिवाद गर्ने बताइरहेका छन् । अर्कोतर्फ, अशक्त, वृद्ध, गर्भवती, अपाङ लगायतहरु थप चिन्तित बनेका छन् । प्रधानमन्त्री कार्यालयले कोही कुनै व्यक्ति भयभित नहुन आग्रह गरेको छ ।

‘अपाङ, गर्भवती, सुत्केरी, वृद्धलाई सुरक्षित तरिकाले अर्को स्थानमा सारिने छ । आत्तिनुपर्ने छैन,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,‘वास्तविक सुकुमवासी आत्तिनु पर्दैन ।’

विगतमा बनेका विभिन्न अध्ययन समितिको आधारमा सुकुमवासीबस्ती खालि गर्न लागिएको सरकारले जानकारी गराएको छ । खोलाको किनारमा सुकुमवासीहरु बस्दा उनीहरु बर्षातको बेलामा असुरक्षित हुनुको साथै सहरी सौन्दर्य पनि बिग्रेको सरकारी बुझाइ छ । विगतमा अध्ययन समितिहरूले सुकुमवासीबस्ती खाली गर्न दिएको सुझावको आधारमा सरकारले ती क्षेत्रहरु खालि गर्न लागेको सरकारी पक्षको भनाई छ ।

शनिबार र आइतबार सार्नुपर्ने सुकुमवासीको संख्या र उनीहरुलाई राखिने तीन स्थान निश्चित गर्ने क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »