
डेपुटी गभर्नर छान्न अर्थमन्त्रीले कार्यकारी निर्देशकहरूको सामूहिक अन्तर्वार्ता गरेका हुन् ?
२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद खाली रहेको पाँच महिना बितिसकेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपयुक्त पात्र छनोट गर्न नसक्दा एक डेपुटी गभर्नर नियुक्ति हुन नसकेको हो ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नरका लागि सबै कार्यकारी निर्देशक योग्य हुन्छन् । केन्द्रीय बैंकमा १८ कार्यकारी निर्देशक छन् ।
अर्थमन्त्री वाग्लेले डेपुटी गभर्नर बनाउने व्यक्ति पहिचानका लागि पनि बुधबार सबै कार्यकारी निर्देशकसँग छलफल डाकेको संकेत दिएका छन् ।
अर्थतन्त्र र वित्तीय क्षेत्रको समस्या र तिनको समाधानका लागि सुझाव माग्ने बहानामा अर्थमन्त्री वाग्लेले १८ कार्यकारी निर्देशकको अघोषित प्रारम्भिक अन्तर्वार्ता लिएको हुन सक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
छलफल सुरु गर्नुअघि मन्त्री वाग्लेले ‘डेपुटी गभर्नर सिफारिस गर्नुपर्ने छ’ भनेको सहभागी एक कार्यकारी निर्देशकले बताए ।
‘मैले त भेट्नैपर्ने पनि किन थियो भने तिनीहरूमध्येबाट कसैलाई डेपुटी गभर्नर सिफारिस पनि गर्नुपर्ने छ,’ अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै ती कार्यकारी निर्देशकले भने, ‘ त्यसो हुनाले चिन्नु नचिन्नुको भन्दा केही कुराहरू सुनौं, धारणा पनि बुझौं भन्ने हिसाबले सबैलाई बोलाएको हो ।’
बुधबार १८ कार्यकारी निर्देशकलाई साढे ९ बजे मन्त्रालय बोलाएका मन्त्री वाग्लेले १२ जनाको धारण सुनेका थिए । त्यसपछि भने मन्त्रिपरिषद् बैठक भन्दै बाँकी ६ जनालाई साँझ बोलाए । मन्त्रीले भने अनुसार बाँकी कार्यकारी निर्देशक पनि अर्थ मन्त्रालय गइसकेका छन् ।
‘त्यसरी परीक्षा दिएर डेपुटी गभर्नर हुने भए त हुन्थ्यो नि !,’ अर्का एक कार्यकारी निर्देशकले भने, ‘के गर्दा भइन्छ, के गर्दा भइँदैन भन्ने नै जानकारी छैन ।’
राष्ट बैंकमा २५ फागुन २०८२ देखि दुवै डेपुटी गभर्नर पद खाली छ । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको सिफारिसमा सरकारले तत्कालीन कार्यकारी निर्देशक किरण पण्डितलाई २४ चैत २०८२ मा डेपुटी गभर्नर नियुक्त गरेको थियो ।
गभर्नरले ४ कार्यकारीको नाम सिफारिस गरे पनि सरकारले एउटा मात्र नियुक्त गरेको हो । गभर्नर पौडेलले सिफारिस गरेका मध्येबाट भनसुन नगरेका वा डेपुटी बन्नका लागि शक्तिकेन्द्र रिझाउने प्रयास नगरेको व्यक्तिलाई छनोट गरिएको मन्त्री वाग्लेले बताएका थिए ।
मन्त्रीले छिट्टै अर्को डेपुटी गभर्नर पनि राजनीतिक झुकाव नभएको र सक्षम व्यक्तिलाई बनाइने बताएका थिए । निष्पक्ष र क्षमतावान व्यक्तिलाई डेपुटी गभर्नर बनाउने भनेको ५ महिना बितिसक्दा पनि मन्त्री वाग्लेले उपयुक्त पात्र नभेटेपछि राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकलाई नै अर्थ मन्त्रालय डाकेका हुन् ।
राष्ट्र बैंक ऐन २०५८ को दफा १६ मा डेपुटी गभर्नर नियुक्ति सम्बन्धी व्यवस्था छ । सोही दफामा गभर्नरको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्ति गर्ने व्यवस्था गरिएको छ ।
गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिका लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने छ भन्ने व्यवस्था पनि सोही दफामा छ ।
डेपुटी गभर्नर पदमा नियुक्त व्यक्ति बैंकको सेवाबाट स्वत: निवृत्त भएको मानिने व्यवस्था पनि सोही दफामा छ । डेपुटी गभर्नर राष्ट्र बैंक सञ्चालक समिति सदस्य पनि हुन्छ ।
राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्ति गर्दा एक जना वरिष्ठताका आधार र एक जना कार्यक्षमताका आधारमा गर्ने परम्परा थियो । तर, पूर्वगभर्नर महाप्रसाद अधिकारी डेपुटी गभर्नर हुँदा सरकारले दुवै जना कनिष्ठ कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । सोही क्रमलाई यो सरकारले पनि दाहोर्याएको हो ।

