
म्याग्दीको बेनीस्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा थप उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा विस्तार गरेको हो। यससँगै मृगौला रोगीलाई डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौं जानुपर्ने बाध्यता कम भएको छ।
यसअघि डायलाइसिसका लागि कुश्मा अस्पताल जाने गरेका धवलागिरी गाउँपालिका–४ बाँसबोटका सन्तोषकुमार पुर्जाले बेनीमै सेवा पाउन थालेपछि समय र खर्च बचत भएको बताए।
विसं २०७७ साउन २५ गते पाँच वटा मेसिनबाट सुरु भएको डायलाइसिस सेवाका लागि प्रदेश सरकारले हालै थप तीन वटा उपकरण उपलब्ध गराएको हो। हाल सञ्चालनमा रहेका नौ वटा मेसिनबाट दैनिक ४५ जनासम्मलाई सेवा दिन सकिने अस्पतालका प्रमुख डा. हेमन्त बाँस्तोलाले बताए।
अस्पतालमा यसअघि ३७ जना बिरामीले डायलाइसिस सेवा लिँदै आएकोमा अहिले संख्या ४० पुगेको छ। प्रतीक्षा सूचीमा रहेका थप १० जना मृगौला रोगीलाई समेत बेनीमै सेवा उपलब्ध गराउन अस्पतालले सम्पर्क गरिरहेको जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँका अनुसार अमेरिकामा रहेका एक म्याग्दीका मृगौला रोगीले समेत बेनीमै डायलाइसिस गराउन सम्पर्क गरेका छन्।
यसअघि प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको डायलाइसिस सेवा अहिले अस्पतालको फराकिलो भवनमा स्थानान्तरण गरिएको छ। संघीय सरकारले उपलब्ध गराएका दुईमध्ये एक मेसिन बिग्रिएको छ भने दुई वटा मेसिन जगेडामा राखिएको अस्पतालले जनाएको छ।
स्थानीयवासीले सेवा विस्तारसँगै थप स्वास्थ्यकर्मीलाई तालिम दिन, निर्माणाधीन भवनलाई पूर्णता दिएर त्यहीँबाट सेवा सञ्चालन गर्न तथा मृगौला रोगीलाई एकपटक स्वास्थ्य बिमा गरेपछि दीर्घकालीन रूपमा सेवा पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
