गोरखा अस्पतालमा इएनटी सेवा सुरु, १०० शैयामा स्तरोन्नतिको तयारी

गोरखा । प्रदेश अस्पताल गोरखामा आँखा, नाक, कान तथा घाँटी (इएनटी) सम्बन्धी उपचार सेवा सुरु भएको छ। अस्पतालले मंगलबारदेखि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी इएनटी सेवा सञ्चालनमा ल्याएको हो।

यसअघि आँखा, नाक, कान तथा घाँटीसँग सम्बन्धित सामान्य समस्याका बिरामीलाई समेत चितवन र काठमाडौं रिफर गर्नुपर्ने बाध्यता थियो। अस्पतालमै इएनटी सेवा सुरु भएपछि जिल्लावासीलाई उपचारका लागि बाहिर जानुपर्ने समस्या कम हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शम्भु अधिकारीले बताए।

उनका अनुसार अस्पतालमा इएनटीसम्बन्धी सामान्य उपचारसँगै माइनर अपरेसनसमेत गरिनेछ। “सामान्य समस्या हुँदा पनि काठमाडौं र चितवन रिफर गर्नुपर्ने अवस्था थियो। अब यहींबाट इएनटी सेवा दिन सकिन्छ,” अधिकारीले भने।

अस्पतालले आगामी भदौदेखि इनडोर फार्मेसी सेवा सञ्चालन गर्ने तयारी गरेको छ। प्रत्येक वार्डमा छुट्टाछुट्टै फार्मेसी सञ्चालन गर्ने योजना रहेको अधिकारीले बताए। यसबाट अस्पतालमा हुने भीड व्यवस्थापन हुनुका साथै बिरामीले औषधि लिन लामो समय लाइन बस्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ भित्रै अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने योजना रहेको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताए। हाल ५० शैयाको स्वीकृति रहेको अस्पतालले ७० देखि ७५ शैयासम्मको सेवा सञ्चालन गर्दै आएको छ।

पर्याप्त बेड अभावका कारण दैनिक ५–६ जना बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेको निमित्त मेसु अधिकारीले बताए। “बेड नभएकै कारण यहीँ उपचार गर्न सकिने बिरामीलाई पनि बाहिर पठाउनुपरेको छ,” उनले भने। जनशक्ति अभावका कारण चार जना नर्सले एकैपटक करिब ५० जना बिरामी हेर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

चालु आर्थिक वर्षभित्र अस्पतालमा एसएनसीयू, आईसीयू, सिटी स्क्यान तथा गर्भावस्थामा गरिने एनोमली स्क्यान र फिटल इकोकार्डियोग्राफी सेवा सुरु गर्ने तयारीसमेत भइरहेको अध्यक्ष ढकालले जानकारी दिए।

अस्पतालमा अन्य पालिकाका स्वास्थ्य संस्थाबाट रिफर भएर आउने बिरामीको संख्या पनि बढ्दै गएको छ। अस्पतालले तीन जना विशेषज्ञसहितको डेन्टल सेवा, आयुर्वेद सेवा र हेमोडायलासिस सेवा सञ्चालन गरिरहेको छ। हाल ४० जनाले नियमित रूपमा हेमोडायलासिस सेवा लिइरहेका छन्।

गण्डकी प्रदेश सरकारले हेमोडायलासिस सेवा विस्तारका लागि थप दुईवटा मेसिन उपलब्ध गराएपछि अस्पतालमा डायलासिस मेसिनको संख्या सात पुगेको छ। यसबाट करिब ५० जनालाई नियमित रूपमा डायलासिस सेवा दिन सकिने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार पछिल्ला तीन वर्षमा गुणस्तरीय सेवा विस्तार भएसँगै उपचारका लागि आउने बिरामीको संख्या तीन गुणाले बढेको छ। यद्यपि जनशक्ति अभाव, भीड व्यवस्थापन, थप सेवा विस्तार तथा आवासका लागि आवश्यक संरचना र जग्गाको अभावजस्ता चुनौती भने कायमै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »