आज लाग्दैछ खग्रास सूर्यग्रहण, नेपालबाट किन देखिँदैन ?

काठमाडौं । आज बुधबार दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। तर यो सूर्यग्रहण नेपालसहित एसियाका अधिकांश भागबाट देखिने छैन।

नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिन लागेको यो पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, एटलान्टिक महासागर, स्पेन तथा पोर्चुगलका केही भागबाट देखिनेछ। पूर्ण ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान गरिएको छ।

उत्तरी अमेरिकाका केही भाग, क्यानडा, उत्तर–पश्चिमी अफ्रिका तथा युरोपका धेरै क्षेत्रमा भने आंशिक सूर्यग्रहण देखिनेछ। केही स्थानमा सूर्यको ९० प्रतिशतभन्दा बढी भाग चन्द्रमाले ढाकेको देखिने वैज्ञानिकहरूले बताएका छन्।

नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा साँझतिर देखिनेछ। पूर्ण ग्रहणको अवधि सामान्यतया दुई मिनेटभन्दा कम रहने अनुमान गरिएको छ।

खगोलीय नियमअनुसार चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाश पृथ्वीसम्म पुग्न आंशिक वा पूर्ण रूपमा रोकिँदा सूर्यग्रहण लाग्छ। सूर्य, चन्द्रमा र पृथ्वी लगभग एउटै रेखामा आउँदा यस्तो अवस्था सिर्जना हुन्छ।

सूर्यग्रहणलाई खाली आँखाले हेर्न नहुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। साधारण सनग्लास प्रयोग गरेर हेर्दा आँखाको रेटिनामा स्थायी क्षति पुग्न सक्ने भएकाले सूर्यग्रहण हेर्न विशेष रूपमा सुरक्षित प्रमाणित चस्मा प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ।

नासालगायत विभिन्न संस्थाले सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »