
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध पुराना बीमितलाई अनिवार्य रूपमा केवाइसी (KYC) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। बीमित तथा उनीहरूका परिवारको विवरण अद्यावधिक र व्यवस्थित राख्न बोर्डले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।
पोर्टलमार्फत बीमितले आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरणमा आवश्यक संशोधन र अद्यावधिक गर्न सक्नेछन्। केवाइसी अपडेट गर्दा नाम, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, नागरिकता वा जन्मदर्ताको विवरण लगायत सच्याउन सकिनेछ। साथै, परिवारका सदस्यसम्बन्धी विवरणसमेत अद्यावधिक गर्न सकिने बोर्डले जनाएको छ।
केवाइसी अपडेट गर्न स्वास्थ्य बीमा बोर्डको अनलाइन पोर्टल eportal.hib.gov.np मा गई आवश्यक प्रक्रिया पूरा गर्न सकिनेछ। बोर्डले स्वास्थ्य बीमा सेवामा आबद्ध पुराना बीमितलाई आफ्नो विवरण सही र अद्यावधिक राख्न आग्रह गरेको छ।
