
गण्डकी प्रदेशका १० वटा जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएका छन्। प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार मनाङमा भने यस वर्ष अहिलेसम्म कुनै पनि डेंगीको सङ्क्रमण देखिएको छैन।
गत जुलाइपश्चात् डेंगी सङ्क्रमणको दरमा उल्लेखनीय वृद्धि भएको केन्द्रका निर्देशक मनमोहन मिश्रले जानकारी दिएका छन्। उनका अनुसार गत जेठ र असार महिनामा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकोमा साउन महिनामा बढेर सो सङ्ख्या एक हजार २४७ पुगेको थियो।
त्यस्तै, भदौ लागेयता मात्रै ३८२ जनामा डेंगीको सङ्क्रमण देखिएको छ भने पछिल्लो एक साता (सेप्टेम्बर ७ देखि १३ भित्र) मात्रै २२८ जना नयाँ बिरामीहरू थपिएका छन्।
पछिल्लो एक साताको तथ्याङ्कअनुसार प्रदेशका विभिन्न जिल्लाहरूमध्ये सबैभन्दा बढी बागलुङमा १७० जनामा सङ्क्रमण पुष्टि भएका छन्। सोही अवधिमा कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा ७, गोरखामा ६, स्याङ्जा, तनहुँ र लमजुङमा समेत बिरामी फेला परेका छन्।
पछिल्लो हप्ता सङ्क्रमण पुष्टि भएका कुल २२८ जनामध्ये एक्लै बागलुङ नगरपालिकामा मात्र ५७ जना सङ्क्रमित रहेका छन्। बागलुङपछि पोखरा महानगरपालिकालगायत अन्य स्थानीय तहहरूमा पनि डेंगीको प्रकोप बढी देखिएको छ।
सङ्क्रमणको गति केही हदसम्म कम हुँदै जाने सङ्केत देखिए पनि जोखिम अझै पूर्ण रूपमा नटरेको निर्देशक मिश्रले स्पष्ट पारेका छन्। डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार सङ्क्रमणलाई थप फैलिन नदिन सम्बन्धित क्षेत्रहरूमा ‘खोज र नष्ट गर’ अभियान व्यापक रूपमा सञ्चालन गरिएको छ।
डेंगी सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेले घर, कार्यालय तथा सार्वजनिक स्थलहरूमा जम्मा भएको सफा पानीमा फुल पार्ने र यसले विशेषगरी दिनको समयमा मात्र टोक्ने गर्दछ। यसबाट बच्न खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा र ड्रमहरूमा पानी जम्न दिन नहुने चिकित्सकहरूको सुझाव छ।
विशेषगरी असारदेखि कात्तिक महिनासम्म डेंगीको सङ्क्रमण अत्यधिक फैलने भएकाले सङ्क्रमणपछि अत्यधिक बान्ता हुने, नाकबाट रगत बग्ने, कालो दिसा आउने र थकान महसुस हुनेजस्ता गम्भीर लक्षणहरू देखिएमा तुरुन्त अस्पतालको विशेष निगरानीमा उपचार गराउन चिकित्सकहरूले आग्रह गरेका छन्।
