
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
२० कात्तिक, जनकपुरधाम । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा पछिल्लो डेढ महिनायता एकपछि अर्को विवाद छताछुल्ल भएको छ ।
गत ५ असोजमा पालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यालयमै वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यो घटना सेलाउन नपाउँदै फेरि पालिका अध्यक्ष चौधरीको राजीनामा विवाद सतहमा आएको छ ।
मंगलबार साँझ अध्यक्ष चौधरीले पदबाट राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक भयो । ५ असोजको मिति उल्लेख गरिएको सो पत्र १८ कात्तिकमा कार्यपालिका बैठकबाट स्वीकृत भएको देखिन्छ । अग्नीसाइर कृष्णसवरन गाउँपालिका उपाध्यक्ष कल्पना चौधरी र वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफाले अध्यक्षले राजीनामा दिएको बताएका छन् ।
‘असोज ५ गते परिषद् भएको दिन मालिस गरेको भिडियोसमेत आएको थियो, त्यही दिन अध्यक्ष चौधरीले राजीनामा पत्र बुझाउनुभएको थियो । कात्तिक १८ गतेको कार्यपालिका बैठकले सो राजीनामा स्वीकृत गरेको छ,’ उपाध्यक्ष चौधरीले भनिन् ।
एमालेबाट निर्वाचित वडाध्यक्ष खलिफाले पनि पालिका अध्यक्षले राजीनामा दिएको र कार्यपालिका बैठकले स्वीकृत गरेको पुष्टि गरे । यो खबर सार्वजनिक भएकै भोलिपल्ट बुधबार पालिका अध्यक्ष दिनानाथ चौधरीले प्रेस विज्ञप्ति जारी गरे । विज्ञप्तिमा आफूले राजीनामा नदिएको दाबी गर्दै त्यो पूर्ण रूपमा किर्ते र नियोजित रूपमा भ्रम फैलाउने कार्य भएको आरोप लगाएका छन् ।
‘मैले राजीनामा दिएको कुरा पूर्ण रूपमा मनगढन्ते र नियोजित रूपमा फैलाइएको भ्रम हो । मैले कुनै निकायमा राजीनामा पेस गरेको छैन,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘यदि मैले स्वेच्छाले राजीनामा दिएको भए, त्यस अवधिमा कार्यपालिका बैठक कसरी बस्यो ? म कागजी कारोबारमा सहभागी किन थिएँ ? मेरो सनाखत बिना कसरी राजीनामा स्वीकृत भयो ?’
यसबीच, पालिका उपाध्यक्ष कल्पना चौधरी भने अडानमा अडिग छिन् । ‘अध्यक्षज्यूले राजीनामा दिनुभएको हो, त्यो असोज ६ गते आएको हो र कात्तिक १८ गते स्वीकृत भएको छ । राजीनामा दिएको छैन भनेर हुन्छ ?,’ उनले भनिन् । यसबारे निर्वाचन आयोगलाई जानकारीसमेत पठाइसकिएको उनले बताइन् ।
गाउँपालिकामा राजीनामा सत्य हो कि अफवाह भन्ने विषयमा दुई पक्षबीचको मतभेदले थप अन्योल सिर्जना भएको छ ।
पालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यपालिकामा आफू अल्पमतमा रहेको र विपक्षी दलहरूको असहयोगका बाबजुद गाउँपालिकालाई सप्तरीकै उत्कृष्ट पालिका बनाउन सफल भएको दाबी गरेका छन् । विपक्षी दलहरूले राजनीतिक निष्ठा र संस्कारबाट विचलित हुँदै षड्यन्त्र र जालसाँजीको बाटो अपनाएको उनको आरोप छ ।
‘यदि मैले राजीनामा दिएको भए तत्कालै सार्वजनिक हुन्थ्यो नि, त्यो पत्रमा दर्ता र चलानी नम्बरसमेत छैन । ४२ दिनपछि राजीनामा सार्वजनिक हुन्छ ?,’ उनको प्रश्न छ ।
तर, पालिका उपाध्यक्ष चौधरीले दर्ता, चलानी वा सार्वजनिकभन्दा पनि राजीनामापत्रमा हस्ताक्षर कसको हो भन्ने कुरा महत्वपूर्ण रहेको जिकिर गरिन् ।














