कक्षा १२ पूरक परीक्षामा ५७ हजार ८९७ विद्यार्थी सफल

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार राति प्रकाशित गरेको हो।

बोर्डका अनुसार परीक्षामा सहभागी ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना अर्थात् ८१.१९ प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन्। साथै, तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ।

परीक्षाफलप्रति चित्त नबुझ्ने परीक्षार्थीले साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर तिरी अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

त्यस्तै, प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको १० दिनपछि तोकिएको दस्तुर बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्।

बोर्डका अनुसार परीक्षाफलमा कुनै प्राविधिक त्रुटि वा व्यक्तिगत विवरण फरक परेमा नतिजा सार्वजनिक भएको ६ महिनाभित्र आवश्यक कागजातसहित सच्याउन आवेदन दिन सकिनेछ।

परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस सेवा तथा आईभीआर सेवामार्फत पनि हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »