
रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वर्तमान संविधान संशोधन गर्न तत्काल आवश्यकता नरहेको बताएका छन्। उनका अनुसार अहिलेको संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने अवस्था छैन।
सिंहदरबारमा भएको एक राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सरकार र रास्वपालाई संविधान संशोधन आवश्यक नलागेको स्पष्ट पारेका हुन्। उनले अन्य राजनीतिक दलहरूले लामो समयदेखि संविधान संशोधनको माग गर्दै आएकाले मात्र सरकारले त्यससम्बन्धी प्रक्रिया अघि बढाएको बताएका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री शाहले भने, ‘सरकार र रास्वपालाई संविधान संशोधन चाहिएकै छैन। अन्य दलहरूको मागका कारण मात्र प्रक्रिया अघि बढाइएको हो। अहिलेको संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने आवश्यकता छैन।’
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै बैठकमा सहभागी ती नेताले संविधान संशोधनप्रति सरकार नै उत्साहित नदेखिएपछि गठित कार्यदलको औचित्यमाथि प्रश्न उठेको बताए। उनका अनुसार, यही कारण देखेर एमालेसहित केही दलहरूले कार्यदलबाट आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हुन सक्ने संकेत पनि गरिएको छ।
संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमत नजिक रहेको रास्वपा नेतृत्वको सरकारले नै संशोधनप्रति अनिच्छा देखाएको अभिव्यक्तिपछि संविधान संशोधनको बहस फेरि एकपटक राजनीतिक चर्चाको केन्द्रमा पुगेको छ।
