रुपन्देहीमा गोमन सर्पको बिगबिगी, २३ वटा एउटै घरमा भेटिए

रुपन्देहीमा गोमन सर्पको बिगबिगी, २३ वटा एउटै घरमा भेटिए

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

३२ असार, बुटवल । रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा) को बिगबिगी देखिएको छ ।

तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल ११ देवसिद्धचोकको एउटै घरबाट ८ वटा र देवदह ८ टटेराको एउटै घरमा ९ वटा गोमन सर्प भेटिएका हुन् ।

सर्प उद्धारकर्ताका अनुसार एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्प गोमन भेटिएको रुपन्देहीमा पहिलोपटक हो ।

तिलोत्तमा प्रेमनगरका डिलाराम अर्याललाई भान्सा कोठामा खाना पकाउँदै गर्दा सर्पले डसेर अस्पताल भर्ना भएपछि घरमा सर्प खोजतलासका क्रममा तीन दिनमा २३ वटा गोमन भेटिएका थिए ।

भान्सा कोठामा केही भाग फुटेको देखेपछि सर्प उद्धारकर्तालाई बोलाएर हेर्दा पहिलो दिन ५ वटा र दोस्रो दिन दिनभर खोज्दा थप १२ वटा सर्प भेटिएका थिए । तेस्रो दिन पनि खोजी गर्दा थप ६ वटा गरी २३ वटा सर्प फेला पारेर उद्धारकर्ताले जंगलमा लगेर छाडेका थिए ।

उक्त घटना लगत्तै बुटवल ११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा एकै दिन ८ वटा गोमन सर्प भेटिए ।

विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको सर्प उद्धारकर्ता विशाल पाण्डे बताउँछन् ।
दुबै ठाउँमा भेटिएका सर्पलाई तिलोत्तमा १ का विशाल पाण्डे र उनको टिमले घरबाट निकालेर जंगलमा लगेर छाडेका छन् ।

तिलोत्तमा पछि देवदह नगरपालिका ८ टटेरामा प्रेम खत्रीको घरमा मंगलबार ९ वटा गोमन सर्प भेटिए । त्यहाँ पनि विशाल पाण्डे र उनको टिमले सर्पलाई समाएर जंगलमा पुर्‍याएर छाडे ।

सर्पको बासस्थान संकटमा

विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको सर्प उद्धारकर्ता विशाल पाण्डे बताउँछन् । ‘पहिला सर्पको बासस्थान वन जंगल हुन्थ्यो, वन जंगल खेत हुँदै घडेरी बने, अनि घर बने । सर्प बस्ने ठाउँ हुन छाड्यो,’ पाण्डेले भने, ‘बासस्थान र आहाराको खोजीमा सर्प घरघर आउन थाले ।’

पाण्डेका अनुसार गत वर्ष विभिन्न ठाउँमा गरेर एकैदिन १८ वटा गोमन सर्प फेला परेका थिए । तर यो वर्ष एउटै घरबाट २३ वटा गोमन भेटिनु दुर्लभ घटना भएको बताए ।

दुई दशकदेखि सर्प उद्धारको काम गर्दै आएका तिलोत्तमा-१ का खिमलाल पाण्डेका अनुसार यसपटक २३ वटा गोमन भेटिएकै घरमा १२ वर्षअघि आफूले ११ वटा गोमन सर्पका बच्चा उद्धार गरेको बताए ।

‘असारदेखि भदौसम्म तराईमा विषालु सर्पको डर हुन्छ,बढ्दो शहरीकरणले वन र खाली जग्गा नहुँदा घर गोठहरू नै सर्पको बासस्थान हुन थालेका छन्,’ पाण्डेले भने, ‘घर गोठ सफा राख्ने, प्वालहरू देखिए टाल्ने, घरका झ्यालमा जाली लगाउने गर्नुपर्छ, सर्प देखिए मार्न भन्दा उद्धारकर्तालाई बोलाउनुपर्छ ।’

नेपालमा बर्सेनि सर्पदंशबाट तीन हजारभन्दा बढीले ज्यान गुमाउँदै आएको तथ्यांक छ । सर्पदंशबाट बर्सेनि ४० हजारभन्दा बढी प्रभावित हुने र तीन हजारभन्दा बढीको मृत्यु हुने गरेको ‘नेसनल लाइब्रेरी अफ मेडिसिन’ले दुई वर्ष अघि प्रकाशित गरेको अध्ययनले देखाएको छ ।

सन् २०२२ मा मात्रै ३७ हजार ६ सय ६१ जनालाई सर्पले डसेको प्रतिवेदनमा उल्लेख थियो । सर्पको डसाइबाट हुने मृत्युका सबै घटना प्रहरीसँग नपुग्ने भएकाले वास्तविक मृत्युको संख्या अझै धेरै हुने अनुमान छ ।

तराईका अति प्रभावित जिल्लाहरूलाई केन्द्रित गरेर गरिएको अध्ययनले सर्पदंशबाट प्रभावितमध्ये ४८.८ प्रतिशतलाई विषालु सर्पले डसेको र ७.८ प्रतिशतको तत्काल मृत्यु भएको पाइएको थियो ।

अध्ययनले प्रति एक लाखमा बर्सेनि २६२ जना अर्थात् देशभरि २६ हजार ७४९ देखि ३७ हजार ६६१ जनालाई सर्पले डस्ने गरेको पाइएको थियो । तीमध्ये बर्सेनि २३ सयदेखि ३२ सयसम्म मान्छेको मृत्यु हुने गरेको छ ।

सर्पले डसेको एक घण्टाभित्र उपचार सुरु गर्नुपर्ने भए पनि अस्पतालसम्म नपुग्दै बर्सेनि हजारौंको संख्यामा ज्यान जाने गरेको चिकित्सकहरूको भनाइ छ ।

गोमन, करेतजस्ता विषालु सर्पले डसेमा तत्काल उपचार गर्नुपर्छ । विभिन्न अध्ययन र सर्वेक्षणले नेपालमा सर्पदंशको जोखिम उच्च रहेको देखाए पनि बर्सेनि सर्पको डसाइबाट हुने प्रभावित र मृत्युको यकिन तथ्यांक भने उपलब्ध छैन ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »